काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा तेस्रो दिनसम्म १.३८ गुणा बढी आवेदन परेको छ ।
सोमबार साँझ ५ः११ बजेसम्ममा ११ लाख ७७ हजार ४८ जना आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता सेयरको १.३८ गुणाबढी हो ।
कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणलाई ९० लाख कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा सेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले यस अघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि रहेको छ ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो।