काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले भोलिदेखि पहिलो चरणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १९ करोड १२ लाख २५ हजार रुपैयाँको आईपीओ निष्काशन गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर बिक्री खुला गरिनेछ।
त्यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गर्नेछ।
उक्त आईपीओमा आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का बासिन्दाले आवेदन दिन पाउनेछन्। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १९ हजार १२० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
स्थानीयले माछापुच्छ्रे गाउँपालिकामा रहेको सेती नदी जलविद्युत आयोजनास्थल, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्सको माछापुच्छ्रे गाउँपालिकाको भुजुङखोला शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन पाउनेछन्।
उक्त आईपीओमा दुवै समूहले असोज २ गतेसम्म आवेदन दिन पाउनेछन्। मागबमोजिम आवेदन नपरेको खण्डमा स्थानीयका लागि भने असोज १७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।