मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङको राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गर्नका लागि विधिवत समुद्घाटन समारोह मिति २०८० भाद्र ८ गते सु–सम्पन्न गरेको छ ।
होटल एलोफ्तमा आयोजना भएको उक्त समारोहको अध्यक्षता कम्पनीका अध्यक्ष प्राडा गोविन्द नेपालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र विशेष अतिथि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.का अध्यक्ष पृथ्वीबहादुर पाँडेको उपस्थिति थियो ।
विशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की सहभागी थिए । उक्त समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ., नेपाल इन्भेष्टमेण्ट मेगा बैंक तथा एनआइएमबी एस क्यापिटल लि.का सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
कम्पनीले सुशासन, नियमपरिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरूलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराईएको थियो ।
उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रित हुने, पुँजीबजारको बिकासमा टेवा पुर्याउने विश्वास समेत व्यक्त गरे ।
२०८० भाद्र १० गतेका दिनबाट लगानीकर्ताहरुले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् ।