काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्टसहित ३ कम्पनीको सेयर सूचीकृत भएको छ । बिहीबार घोराही सिमेन्ट इन्डस्ट्री, थ्रीस्टार हाइड्रोपावर र अपर स्यांगे हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा, घोराही सिमेन्टको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता (२० प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता (८० प्रतिशत) रहेको छ।
नेप्सेले कम्पनीलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतममा प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि अधिकतममा ६७९.८३ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ।
त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको कुल ३९ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १२ लाख ३१ हजार २५० कित्ता (२५ प्रतिशत) र संस्थापक सेयरधनीको ३६ लाख ९३ हजार ७५० कित्ता (७५ प्रतिशत) रहेको छ।
नेप्सेले कम्पनीलाई ‘टीएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतममा प्रतिकित्ता ८५.६५ रुपैयाँदेखि अधिकतममा २५६.९५ रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गरेको छ ।
त्यसैगरि, अप्पर स्यांगे हाइड्रोपावरको कुल २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ८ लाख ७० हजार ८०१ कित्ता (३९.५५ प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १३ लाख ३० हजार कित्ता (६०.४५ प्रतिशत) रहेको छ।
नेप्सेले कम्पनीलाई ‘यूएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। कम्पनीले पहिलो कारोबारका लागि न्यूनतममा प्रतिकित्ता ८४.५४ रुपैयाँदेखि अधिकतममा २५३.६२ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ।
कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने व्यवस्था छ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आउँदो आइतबारबाट यी ३ कम्पनीको सेयर कारोबारमा आउनेछ।