हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, १२ हजार ६ सय ६ जना आवेदक हात खाली

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । उक्त कम्पनीको आईपीओमा गोलाप्रथाबाट १४ हजार ६ सय २५ जना आवेदनले २० कित्ताको दरले सेयर पाएका छन् । सेयर पाउन योग्य रहेका १२ हजार ६ सय ६ जना आवेदक हात खाली भएका छन् ।

आईपीओमा कुल २७ हजार २ सय ३६ जनाको आवेदन परेकोमा ५ जनाको आवेदन रद्द भएको छ । सेयर पाउन योग्य रहेका २७ हजार २ सय ३१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ ।

कम्पनीले साउन ४ देखि साउन १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रति कित्ता ५० रुपैयाँ मै आईपिओ निष्काशन गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो ।

आवेदन दिँदा न्यूनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो। २० कित्ताभन्दा बढीको आवेदन दिन चाहेमा २० अंकको गुणांकको आधारमा दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँट गर्दा पनि न्यूनतम २० कित्ता नै बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहिबार बिहान नक्साल स्थित आफ्नै कार्यालयमा सेयर बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको सेयर बाँडफाँट भएसँगै अब कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो सेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपिओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो ।

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले आफ्नो कुल पुँंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुँजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनी चुक्ता पुँजी १ अर्ब १७ करोड पुग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स