काठमाडौं । मिड सोलु हाइड्रोपावरले भोलिबाट आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भोलि साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको सेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता सेयर स्थानीयका लागि जारी गर्नेछ।
कम्पनीले स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई जारी गर्नेछ। बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिनेछ।
यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ७४ हजार ८४० कित्ता सेयरमा भने विदेशमा रहेका श्रमिकले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा स्थानीय र विदेशमा रहेका श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयले सोलुखुम्बुको सल्लेरीमा रहेको एनआईसी एसिया बैंक, सोलुदूधकुण्डमा रहेको लक्ष्मी सनराइज बैंक, लुक्लामा रहेको राष्ट्रिय वाणिज्य बैंक, सल्लेहरीमा रहेको राष्ट्रिय वाणिज्य बैंक र नाम्चेबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
स्थानीयका लागि जारी हुने आईपीओको निष्कासन बन्दी छिटोमा साउन २८ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २८ गतेसम्म आवेदन दिन पाउनेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।