काठमाडौं । एकपछि अर्को हकप्रद निष्काशन गर्न अनुमति माग्ने निर्णय गरेको छ्याङ्दी हाइड्रोपावरलाई सेयर बजारले स्वागत गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले असोज ६ गते पुनः ४० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेपछिलगातार बढ्न थालेको छ्याङ्दीको सेयर मूल्य मंगलमा ९.८९ प्रतिशतले बढेको छ । सोमबारको तुलनामा मंगलबार उक्त कम्पनीको सेयर ४५ अंकले बढेको छ ।
छ्याङ्दी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद सेयरपछि पुनः ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले ४० हकप्रद सेयर जारी गर्नको लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय गरेको हो ।
कम्पनीले कायम चुक्ता पुँजीको ३० हकप्रद सेयर निष्कासन गर्न स्वीकृतीका लागि नेपाल धितोपत्र बोर्ड आवेदन दिइसकेको छ ।
३० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपश्चात कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ पुग्नेछ । उक्त चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि कम्पनीले आयोगसँग अनुमति माग्ने छ । यदि कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएमा कम्पनीको चुक्ता पुाजी ५४ करोड १६ लाख ६८ हजार ५ सय रुपैयाँ पुग्नेछ ।
कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना (४ मेगावाट) को लागतमा कोभिड १९ ले भएको बन्दाबन्दी र बाढी पहिरोका कारण लागत वृद्धि भएको कम्पनीले जनाएको छ ।