काठामाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा साढे २३ लाखले आवेदन दिएका छन् । मंगलबार साँझसम्ममा २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ । सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणा बढी हुन आउँछ ।
कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका हो । कम्पनीको १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधरणलाई वितरण हुनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल यो जानकारी दिएको हो ।
मागभन्दा बढी आवेदन परेकोले २ लाख ९ हजार २५० आवेदकले मात्रै गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर पाउने छन् । मागभन्दा बढी आवेदन परेकाले साढे २१ लाखको हात खाली हुने देखिएको छ ।