राष्ट्र बैंकले झ्याप्प ब्रेक लगाउँदा सेयर बजार ह्वात्तै घट्योः सेबोन पूर्व अध्यक्ष डा.कार्की

काठमाडौं । घट्ने र बढ्ने पुँजी बजारको प्राकृतिक नियम नै हो । तर, नेपालको पुँजी बजार तीब्र गतिमा माथि बढ्ने र उस्तै गतिमा घट्ने गर्छ । यस्तो प्रवृत्ति पुँजी बजारका लागि राम्रो मानिदैन ।

राष्ट्र बैंकले पुँजी बजारको नियमनका लागि विस्तारै कढाइ गर्दै जानु पर्ने थियो । मौद्रिक नीतिको समीक्षा मार्फत् पुसमा केही व्यवस्था गर्न सकिन्थ्यो । पूर्व अर्थमन्त्रीले त्यति बेला नै निर्देशन दिनुपर्ने थियो । तर, गरेनन् र सो कारण तत्कालिन समयमा राष्ट्र बैंकले ठोस कदम उठाउन सकेन ।

कोभिडको प्रकोपमा परेका विभिन्न क्षेत्रलाई राहत तथा छुटका प्याकेजहरु घोषणा गरिएको थियो । तर, ती क्षेत्रहरूमा तत्कालिन अवस्थामा लगानी हुने सम्भावना थिए । व्यावसायिक प्रयोजनका लागि दिइएको छुटको सदुपयोग पुँजी बजारमा भएको थियो ।

यस्तो प्रकारको छुट लामो समय दिनु हुँदैन थियो । सरकारले आफ्नो तर्फबाट उपलब्ध गराउनु पर्ने राहतका प्याकेज बैंक तथा वित्त संस्थालाई पोल्टामा हाल्दियो । अन्य क्षेत्रमा लगानीका सम्भावना कम भएकाले धेरै लगानीकर्ताका लागि पुँजी बजार राम्रो प्लेटफर्मका रुपमा देखियो ।

तीव्र गतिमा अघि बढेको पुँजी बजारमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ह्वातै ब्रेक लगायो । गाडी पनि तीव्र गतिमा छ भने सुस्तरी ब्रेक लगाउनु पर्ने हुन्छ ।

एक्कै पटक ह्वातै ब्रेक थिच्दा दुर्घटना हुन्छ । अहिले पुँजी बजारको नियति पनि त्यस्तै देखिएको छ । राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको समीक्षामार्फत् विस्तारै ब्रेक लगाउनु पथ्र्यो । त्यो गर्दा राम्रो हुन्थ्यो । निषेधाज्ञा खुकुलो भएसँगै आर्थिक गतिविधि चलायमान हुन थाल्यो । निषेधाज्ञाको अवधिमा कर्जाको माग पनि कम थियो । अहिले उच्च माग छ ।

बैंक तथा वित्त संस्थाले नेपालको इतिहासकै सबैभन्दा सस्तो ब्याज दरमा सेयर धितो कर्जा विस्तार गरे । ६/७ प्रतिशतमा सेयर धितो कर्जा वितरण गरियो । बैंकहरु आफैले प्रोत्साहन गरे । अरु क्षेत्रमा लगानीको अवस्था थिएन ।

अब ब्याजदर १४ प्रतिशतसम्म पुग्ने अवस्था आइसकेको छ । बैंकहरुले १० प्रतिशतसम्म ब्याज दिने भनेर फिक्स डिपोजिट संकलन गरिरहेका छन् । यस्तो अवस्थामा पनि पुँजी बजारमा थप लगानी हुन सक्दैन । ब्याजदरले पनि पुँजी बजारलाई असर गरेको छ ।

ब्याजदर र पुँजी बजारको इन्भर्स सम्बन्ध हुन्छ । ब्याजदर घट्दा पुँजी बजार बढ्छ । ब्याजदर बढ्दा पुँजी बजार घट्छ । राष्ट्र बैंकले विस्तारै अवलम्वन गर्नु पर्ने ४÷१२ को नीति एकैचोटी लगाइयो । पुँजी बजार घटेपछि बैंकहरुले पनि लगानीकर्तालाई कर्जा तिर्न दवाव दिन्छन् । यसले झनै बजार घट्छ मद्दत गर्छ ।

सेयर बजार जुन हिसाबले बढेको थियो त्यसको आधार कमजोर थियो । गत वर्ष आर्थिक वृद्धि माइनस २ भयो । अहिले ४ प्रतिशत भनिएको छ । त्यो पनि शुन्य वा १ प्रतिशत मात्र वृद्धि भएको मेरो बुझाइ छ ।
सरकारले चालु आवमा ७ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेको छ । चालु आवमा पनि ४ देखि ५ प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।

अनलाइन ट्रेडिङका पुँजी बजारमा कारोबार गर्न सजिलो भएकाले बजार बढेको हो । ब्याजदर र राष्ट्र बैंकको नीतिको असर पुँजी बजारमा देखिएको हो । मौद्रिक नीति अघि सेयर धितो कर्जा मार्फत् लगानीकर्ताको माग अनुसारको कर्जा दिने व्यवस्था पनि ठिक थिएन ।

त्यसलाई विस्तारै घटाएर १ अर्ब, ५० करोडसम्मको सीमा तोकिदिएको भए राम्रो हुन्थ्यो । राष्ट्र बैंकले ह्वात ब्रेक लगायो । यसले पुँजी बजार दुर्घटना तर्फ उन्मुख भयो । यो राष्ट्र बैंकको विवेकशील नियमन हो भन्ने लाग्दैन । पुँजी बजारको करेक्सनका लागि नियमन आवश्यक थियो । तर, त्यसको टाइमिङ र कर्जाको खाडल ठूलो देखियो । साथै अहिले ब्याजदरले पनि बजारलाई असर गरेको छ ।

पुँजी बजारका लगानीकर्ता धेरै भइसकेका छन् । त्यसैले बजार धेरै तलसम्म जान्छ जस्तो लाग्दैन । धेरै लगानीकर्ता पुँजी बजारमा अव्यस्थ भइसकेका छन् । राष्ट्र बैंकले पनि केही करेक्सन गर्ला र सरकारले पनि केही हेर्ला भन्ने अपेक्षा छ ।
त्यो हिसाबले पनि धेरै तल जान्छ जस्तो लाग्दैन । एनपीएल ढेड दुई प्रतिशत भनिएको छ । वास्तविकमा त्यो त्यति हुनै सक्दैन । अस्तिनै मैले मौद्रिक नीति कस्तो हुन् पर्ने भनेर लेखेको छु । राष्ट्र बैंक नियन्त्रण मात्र गर्ने हो । उसले नियमन भन्दा पनि नियन्त्रण गर्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स