काठमाडौं । नेपाल धितोपत्र बोर्ड (‘सेबोन) का पूर्व अध्यक्ष डा.रेवतबहादुर कार्की अध्यक्षका रुपमा पुनः सेबोन नफर्किने बताएका छन् । सेबोनका अध्यक्ष भिष्मराज ढुंगाना सर्बोत्तम सिमेन्टको सेयर खरिद प्रक्रियामा मुछिएका छन् । त्यस विषयमा निष्पक्ष रुपमा छानबिन गर्न सरकारले ढुंगानालाई निलम्वन गरेको छ ।
यदि ढुंगानालाई सरकारले निलम्वन गरेको खण्डमा अर्को व्यक्तिलाई सेबोनको अध्यक्षका रुपमा नियुक्त गर्नुपर्ने हुन्छ ।
ढुंगाना निलम्वनमा परेसँगै सम्भावित सेबोन अध्यक्ष को बन्छ भन्ने बजारमा चर्चा चल्न थालेको छ । सम्भावित अध्यक्षको रुपमा सेबोनका पूर्व अध्यक्ष रेवतबहादुर कार्कीको नाम पनि आइरहेको छ । यस विषयमा हाम्रोअर्थले कार्कीलाई के तपाई पुनः सेबोन अध्यक्षको रुपमा फर्किनु हुन्छ भनेर प्रश्न गरेको थियो । यस विषयको खण्डन गर्दै कार्कीले आफू कुनै पनि हालतमा अब प्रशासनिक पदमा नजाने बताए ।
‘सेबोनको सम्भावित अध्यक्षको रुपमा मेरो नाम पनि परेको होला । पूर्व अर्थमन्त्री डा.यूवराज खतिवडाले पनि म सेबोनबाट बिदाइ हुँदै गर्दा तपाई सेबोन अध्यक्षमा पुनः जान चाहनु हुन्छ भनेर सोध्नु भएको थियो ।’ एक पटक काम गरेको ठाउँमा फेरि दोहोरिएर बस्नु हुँदैन भन्ने मान्यता मेरो हो । र म यस मान्यतामा अडिक पनि छु । त्यसैले म सेबोन फर्कने कुरा जति चर्चा चलेपनि हल्लामा मात्रै सीमित हुनेछ । मैले सेबोनमा आफ्नो कार्यकालमा गर्न सक्ने जति काम गरिसकेको छु ।
आफूलाई कुनै पनि पदको लोभ नभएको उनले बताए । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पनि उनलाई दोहोरिन अनुरोध गरिएको थियो । नेप्सेमा नदोहोरिने अडान राखेकाले सरकारले उनलाई सेबोनको अध्यक्षका रुपमा नियुक्ति दिएको हो ।
यदि सरकारलाई कार्कीले राम्रो काम गर्न सक्छ भन्ने विश्वास लाग्छ भने अन्य क्षेत्रको जिम्मेवारी दिनु पर्ने उनको बुझाइ छ । सरकारलाई मैले राम्रो गर्छ भन्ने विश्वास छ भने अर्को ठाउँमा पठाए म त्यो जिम्मेवारी सम्हाल्न तयार छु । नेप्सेमा नदोहोरिने मेरो अडानका कारण मलाई बोर्डमा अध्यक्ष बनाएर पठाइएको हो ।
‘रेबत बहादुर कार्कीले कक्षा दोहोर्याउन जानेको छैन । एक पटक काम गरिसकेको ठाउँमा फर्केर आउने मेरो कुनै सम्भावना छैन । त्यो सबै हल्ला मात्रै हो,’ कार्कीले हाम्रोअर्थसँग भने, ‘म काहीँ पनि दोहोर्याएर गएको रेकर्ड छैन ।’
Good statement reflecting a sense of integrity