काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज असार १९ गतेदेखि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले ८ लाख कित्ता सेयर आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गर्ने छ। यस निष्काशनमा दोलखाका गौरीशंकर गाउँपालिकाका वडा नम्बर ५,६,७, र ८ , बिगु गाउपालिकाको वडा नम्बर ४, र कालिन्चोक गाउँपालिकाको वडा नम्बर ३ का स्थानीयले आवेदन दिन सक्ने छन् । त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई २ लाख कित्ता सेयर निष्काशन हुने छ ।
स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजा कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
स्थानीयले छिटोमा साउन २ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन २ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।
स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्काशन गरि बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।
स्थानीयले मनकामना इन्जिनियरिङको रजिस्ट्रर्ड कार्यालय (अनामनगर), प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी९आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
मनकामना इन्जिनियरिङले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।