वारेन बफेटले गरे बर्कसायर ह्याथवेको ४.६४ अर्ब डलरको सेयर दान

सन् २००६ यता उनले गरेको दानमात्रै ५१ अर्ब डलर

काठमाडौं । वारेन बफेटले यहि साता बर्कसायर ह्याथवेको थप ४.६४ अर्ब डलर बराबरको सेयर ५ वटा परोपकारी संस्थाहरुलाई दान गरेका छन् । उक्त दानमा बर्कसायरको करिब १ करोड ३७ लाख कित्ता ‘क्लास बी’ सेयरहरू रहेका छन् ।

बफेटले ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ लाई १ करोड ४ लाख ५० हजार कित्ता सेयर दान दिएका छन् । यससँगै, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले हालसम्ममा बर्कसायरको कुल ३९ अर्ब डलरभन्दा बढीको स्टक दानमा प्राप्त गरेको छ ।

योसँगै सन् २००६ यता बफेटले दानमा दिएको कुल रकम ५१ अर्ब डलर नाघेको रोयटर्सले उल्लेख गरेको छ । बुधबार प्रदान गरेको वार्षिक दान ९२ वर्षीय बफेटको सबैभन्दा ठूलो हो ।

यस्तै, बफेटकी स्वर्गीय पहिलो पत्नीको नाममा स्थापित ‘सुसान थम्पसन बफेट फाउन्डेसन’ लाई १० लाख ५० हजार कित्ता सेयर दान गर्दैछन् । २२ लाख कित्ता सेयर भने बफेटका छोराछोरी होवर्ड, सुसान र पिटरको नेतृत्वमा रहेका ३ वटा परोपकारी संस्थाहरुबीच समान रुपमा बाँडफाँट गरिने भएको छ ।

बफेटले सन् १९६५ देखि नेतृत्व गर्दै आएको बर्कसायरमा बनाएको लगभग सबै सम्पति क्रमशः दान गर्दै आएका छन् । बफेटले आफ्नो बर्कसायर स्टकको आधा भन्दा बढी दान गरिसकेका छन् । बुधबारको दानपछि उनीसँग अझै पनि १ खर्ब १२ अर्ब ५० करोड डलर बराबरको अर्थात बर्कसायर ह्याथवेको १५.१% सेयरको स्वामित्व रहेको छ ।
एजेन्सी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स