अपर लोहोरे हाइड्रोपावरले असार ७ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले असार ७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले दैलेख जिल्लाका स्थानीयको लागि ५ लाख ९ हजार ८ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो । जस मध्ये अति प्रभावित क्षेत्र दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ३ का स्थानीयलाई २ लाख ५४ हजार ९ सय २ कित्ता सेयर र नौमुले बाहेकका दैलेखका अन्य स्थानीयलाई २ लाख ५४ हजार ९ सय २ कित्ता सेयर निष्काशन हुने छ । त्यस्तै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि १ लाख ९८ हजार ८ सय २४ कित्ता सेयर निष्काशन हुने छ ।

दुवै निष्काशनमा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । स्थानीय हकमा छिटोमा असार २१ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ५ गतेसम्म आवेदन दिन सकिने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भने असार २१ गतेसम्म मात्र आवेदन दिन सक्ने छन्।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई गरि कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज जेठ २३ गते कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स