नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओमा पहिलो दिन करिब २ लाखले खरिद आवेदन दिएका छन्। आज साँझसम्म कम्पनीको आईपीओमा १ लाख ९९ हजार ७९९ आवेदकबाट कुल २२ लाख ४० हजार ११० कित्ता सेयर माग भएको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।

कम्पनीले आज (जेठ २६ गते)बाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गते बैंकिङ समयपछि हुनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स