काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ लाख २१ हजार ८६८ कित्ता आईपीओ स्थानीयका लागि जारी गरिएको छ।
उक्त आईपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साबिकको सुष्पा क्षमावती गाविसका सबै वडा) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साबिकको सुद्रावती गाविसका सबै वडा) का बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको १ लाख २१ हजार ८६७ कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि निष्कासन गरिएको छ।
दुवै समूहका लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा आउँदो असार १ गते र ढिलोमा असार १७ गते बैंकिङ समयपछि हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने यो आईपीओमा आउँदो असार १ गतेसम्म आवेदन दिन पाउनेछन्।
स्थानीयले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। विदेशमा रहेका नेपाली श्रमिकले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।