काठमाडौं । लामो समयपछि बढेको सेयर बजारमा लगानीकर्ताको आशा पलाउँदै थियो । बजेट आएपछि सेयर बजारको ग्राफ माथि जाने विश्वासमा बसेका लगानीकर्ताको उत्साह यो पटक पनि फेरि निराशामा परिणत भएको छ । बजारले उल्टो दिशा लिएपछि आमलगानीकर्ता पेनिक बनेका छन् । सरकारले गरेको नयाँ व्यवस्थामा पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् ।
बजेट आएको भोलिपल्ट मंगलबार नेप्से परिसूचक ५३.१६ अंकले घटेको थियो भने आज बुधबार ३८.८३ अंकले घटेको छ । दुई दिनमा ९१.९९ अंकले बजार घट्दा लगानीकर्ताहरू आत्तिएका छन् । कतिपय लगानीकर्ता अब सेयर बजारमा बसिरहनुको औचित्य सकिएको भन्दै अन्य विकल्प खोज्न थालेका छन् ।
मंगलबार ५३.१६ अंकले घटेर १८८८.८१ अंक विन्दुमा आइपुगेको नेप्से परिसूचक बुधबार फेरि घट्दा १८४९.७९ अंकमा झरेको छ । बजेटपछिको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक २.७४ प्रतिशत घटेको नेप्से बुधबार २.०६ प्रतिशतले घटेको छ ।
सरकारले अहिले गरेको व्यवस्थाले आम लागनीकर्तालाई घूस दिन कर कार्यालय जानुस जतिकै भएको इन्भेष्टर्स फोरम नेपालका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए । ‘आम लागनीकर्तालाई कर कार्यालय जानुस् भन्नु भनेको घूस दिनुस् भन्नु हो,’ उनले भने ‘सरकारले हाम्रो आँखामा छारो हाल्ने काम गर्यो, त्यसै पनि २४/२५ महिना बजार घट्ला मर्महात बनेका लगानीकर्ताको घाँउमा नुन चुक लगाउने काम गर्यो ।’
‘हामी लगानीकर्ता अडिटर राख्न सक्ने हैसियतका हुँदैनौ, ‘डे टू डे’ को हिसाव राख्न हामी सक्दैनौ, उनले दुखेसो गरे ‘भन्ने नै हो भने सेयर बजार जतिको पारदर्शी अरु कुनै कारोबार तथा व्यवसाय छैन । कारोबारदेखि करसम्म त्यहिबाट काटिन्छ ।’
‘सरकारले घाटामा भए तिरेको कर समेत रि–फण्ड गर्ने भनेको छ । तर, हामी यो कुरामा विश्वस्त हुन सक्दैनौ, मैले ३५ वर्ष अघि ग्रार्मेण्ट निर्यात गर्दा पाउनु पर्ने ७ लाख इन्सेटिभ पाएको छैन । सरकारको ढुकुटीमा पुगेको पैसा फिर्ता पाइन्छ भनेर नसोचेपनि हुन्छ ।’
बजेट अघि अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर लगानीकर्ताहरूले लामोसमयको कारोबारीलाई ३ प्रतिशत र छोटो समयका कारोबारीलाई ५ प्रतिशत पुँजीगत लाभकर लगाउन सुझाव दिएका थियौ । भेटमा अर्थमन्त्री पोजेटिभ नै हुनुहुन्थ्यो । तर, बजेटमा यस्तो व्यवस्था आयो । यो व्यवस्थाले हामीलाई अर्थतन्त्र बुझेको पीएचडी गरेको अर्थमन्त्री आएपनि व्यवस्थामा परिवर्तन नआएको उनले गुनासो गरे ।
बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने भाषा प्रयोग गरिएको छ । बजेट सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरू रुष्ट भएको देखिन्छ ।
सोही कारण लागनीकर्ताहरूले भोलि बिहिबार सेयर लगानीकर्ताको आन्दोलन तयारी छलफलका लागि भेला आब्हान गरेको छ । लगानीकर्ताहरूले भोलि बिहीबार १० बजे, कमलपोखरी, अग्रवाल भवन अगाडि जम्मा हुन सबैलाई आव्हान गरेका छन् ।