काठमाडौं । बजेटले पुँजीबजारलाई राम्रोसँग सम्बोधन गर्न नसकेपछि त्यसको असर सेयर बजारमा देखिएको छ । सरकारले बजेटमार्फत पुँजीगत लाभकर घटाउने अपेक्षा लगानीकर्ताको थियो। तर, बजेटमा पुँजीगत लाभकर यथावत राखिएको छ।
हाल पुँजीबजारमा अल्पकालिन र दीर्घकालिन लगानीकर्ताका लागि पुँजीगत लाभकरमा फरक–फरक व्यवस्था रहेको छ । ३६५ दिनभन्दा कम अवधि सेयर होल्ड गर्ने अल्पकालिन लगानीकर्तालाई ७.५ प्रतिशत र ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्ने लगानीकर्तालाई ५ प्रतिशत लाभकरको व्यवस्था रहेको छ । उक्त पुँजीगत लाभकर बढी भएको भन्दै सेयर लगानीकर्ताहरुले घटाउनुपर्ने माग राख्दै आएका थिए ।
यस्तै कारणले लगानीकर्ताको मनोबलमा कमी आएर आज बजार प्रभावित बनेको छ जसकारण आम लगानीकर्ताहरु निराश बन्न पुगेका छन् ।
मंगलबार, नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.८१ अंक विन्दुमा आइपुगेको छ ।
आज ७० लाख ७४ हजारको कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।