के लगानीकर्ताहरूले यो आर्थिक वर्षभित्र नयाँ ब्रोकरबाट कारोबार गर्न पाउँछन् त ?

काठमाडौं । नेपालको पुँजी बजारको विकासको इतिहासलाई नजिकबाट नियाल्ने हो भने कछुवा गतिमा घ्रिसिएर अगाडि बढिरहेको देखिन्छ । २०६५ सालमा केहि ब्रोकर संख्या थपेर ५० वटा ब्रोकर बनाएको नेप्सेले त्यसको लामो समयसम्म पनि अन्य नयाँ ब्रोकर थप्न सकिरहेको थिएन । तर, लगानीकर्ताको संख्यामा वृद्धि हुँदै जाँदा २०७२/०७३ सालदेखि नै नयाँ ब्रोकर त्यसमा पनि बैंकलाई ब्रोकर लाइसेन्स दिने छलफल र माग हुँदै आइरहेको थियो ।

२०७४/०७५ सालतिर १६ लाख डिम्याट खाता र करिब ४ लाख सक्रिय लागनीकर्ता भएको बेलानै नयाँ ब्रोकर लाइसेन्सको जोडदार माग हुँदै आएको हो । हाल आएर ५६ लाख डिम्याट खाता र ठूलो मात्रामा अनलाइनमार्फत देश विदेशबाट सक्रिय लगानीकर्ताको सहभागिता हुँदा अझ नयाँ ब्रोकर कम्पनीको अत्यधिक आवश्यकता खड्किएको थियो ।

उक्त अभावलाई पुरा गर्ने काम छोटो समयमा विभिन्न अवरोध र झमेलाको बाबजुत पनि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालबाट सक्रियताका साथ छिटो छरितो रुपमा लाइसेन्स प्रक्रिया अगाडि बढ्यो । जसलाई लागनीकर्ताले मुक्तकण्ठले प्रशंसा गरिरहेका पनि छन् । हालै ७ वटा कम्पनीले ब्रोकर लाइसेन्सको अनुमति पाइसकेको र धेरै ब्रोकर कम्पनीहरूले भौतिक पूर्वाधारको तयारी अन्तिम चरणमा पुर्याइसकेको हुनाले पनि लागनीकर्ताहरू अब छिटै नयाँ ब्रोकरबाट पनि कारोबार गर्न पाइन्छ भन्ने कुरामा आशावादी छन् ।

तर, पनि कानुनी र प्रक्रियागत चरणमा के कति समय सीमा लाग्छ, के लगानीकर्ताले यो आर्थिक वर्षमा नयाँ ब्रोकरहरूबाट कारोबार गर्न पाउँछन् त ? भन्ने जिज्ञाशालाई हाम्रोअर्थले सेबोन र नेप्सेसँग बुझेको थियो ।

धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका अन्य कम्पनीको पलेनि पूर्वाधार तयार भएपछि लाइसेन्स पाउने बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । ‘ब्रोकर कम्पनीहरू पूर्वाधार तयार पारेको रिपोर्टिङ बोर्डलाई गरेपछि बोर्डबाट अनुगमन जान्छ,’ उनले भने ‘अनुगमनमा जाँदा कम्पनी सञ्चालनको लागि पूर्वाधार तयार भएको पाइयो भने बोर्डले लाइसेन्स दिइहाल्छ ।’ बोर्डले यस अघि ७ वटा कम्पनीलाई ब्रोकरको काम गर्न लाइसेन्स दिइसकेको छ । नेपाल स्टक एक्सचेन्जबाट सदस्यता लिएर उनीहरूले यहि आर्थिक वर्षमै कारोबार सञ्चालन गर्न सक्ने र आवेदन दिएका कम्पनीले पनि लाइसेन्स पाउने प्रवक्ता श्रेष्ठले बताए ।

बोर्डबाट लाइसेन्स पाएका कम्पनीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सदस्यताको लागि आवेदन दिइसकेका छन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले ब्रोकर कम्पनी खोल्न आएका कम्पनीले टीएमएस सञ्चालनको लागि आवेदन दिइसकेको बताए ।  ‘नेप्सेमा आवेदन आइसकेको छ, उनीहरूले आवेदनका साथ पेश गरेको डकुमेन्ट हेरर सबै डकुमेन्ट ठिक भएमा हामी कम्पनीको अनुगमनमा जान्छौं,’ उनले भने ‘अनुगमनको बेला हामीले हेर्ने भनेको डाटा सेन्टर, म्यानपावर, सेयर कारोबार गर्नको लागि आवश्यक पर्ने हार्डवयर र सफ्टवयर हो ।’ यी पूर्वाधार तयार भएको रहेछ भने बोर्डले तत्कालै टीएमएस दिन सक्छ । टीएमएस भनेको नेप्सेको कारोबार गर्ने सिष्टम हो । डकुमेण्टमा चाहिँ कम्पनीको चुक्ता पुँजी पुर्याएको नपुर्याएको, दर्ता प्रक्रियालगायतका डकुमेन्ट हेरिने नेप्सेको बताएको छ

दुबै नियामक निकायको भनाइको निचोर्ड अनुसार यहि आर्थिक वर्षभित्रनै नयाँ ब्रोकरहरूले आफ्नो प्रक्रिया पुरा गरि लगानीकर्ताहरूलाई नयाँ ब्रोकरमार्फत सेवा सुविधा दिन पाउने छन् । यो १५ वर्षपछिको लगानीकर्ताहरूको लागि नियामक निकायको उपहार हो । बाँकी ३४ वटा कम्पनीले पनि छिट्टै नै प्रक्रियामा गई कारोबार सञ्चालन गर्नेछन् । ब्रोकर लाइसेन्सका लागि जम्मा ४६ वटा कम्पनीले आवेदन दिएकोमा ३ वटाको भने आवेदन रद्द भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स