युनिक नेपाल लघुवित्तको एफपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा दोस्रो दिनसम्म १८ गुणा बढी आवेदन परेको छ । आज जेठ १२ गतेसम्म कम्पनीको एफपीओमा ५ लाख ८६ हजार ६५४ आवेदकबाट ६९ लाख ५५ हजार ९७० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । जुन मागभन्दा १८.३३ गुणाले बढी हो।

कम्पनीले जेठ ११ गतेदेखि एफपीओ निष्काशन गरेको हो । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर निष्काशन गरेको हो ।

कम्पनीको एफपीओमा मागभन्दाबढी आवेदन परेकोले लगानीकर्ताले जेठ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको अनलाईन सफ्वेयर ‘मेरो शेयर’ प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

एफपीओ निष्काशनका लागि गराएको रेटिमा केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स