साधारण लगानीकर्ता डुबाउने खेलमा रिपब्लिक मिडियाको आईपीओ, मुनाफा पाउनेभन्दा डुब्ने जोखिम उच्च

काठमाडौं । नागरिक दैनिक र रिपब्लिका प्रकाशन गर्दै आएको रिपब्लिक मिडियाले आईपीओ जारी गर्दा सार्वजनिक गरेको विवरण पत्रमै लगातार ६ वर्ष नोक्सानमा रहिरहने चित्र देखाइएको छ । विगतमा मुनाफा आर्जन गरेता पनि व्यवसायको समयचक्र अनुसार डिजिटल पत्रकारिताको लोकप्रियताले गर्दा पेपर प्रकाशन गृहहरू धेरै नै व्यवसायिक दवावमा रहेका छन् । जसले केही वर्षदेखि आफ्नो सञ्चालन खर्च समेत धान्न सकेका छैनन् ।

सोही समस्याको अग्रपंतीमा रहेको रिपब्लिका मिडियाले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकति पाइ वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत कोटा प्रणालीमा आवेदनको लागि खुला गरिसकेको छ भने सर्वसाधारणको लागि खुला गर्ने तयारीमा छ ।

सुरुवातमै लगानीकर्ता यस्तो दलदलमा फस्दै छन् कि वर्षौदेखि कम्पनी घाटामा रहेको मिडियाकर्मीहरू ७/८ महिनादेखि पारिश्रमिक दिन नसकेको यस्तो परिस्थितिबाट बन्द हुने कण्डिशनमा पुगेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओको अनुमति दिएर लगानी कर्ता ठगिने र मिडिया हाउसको उद्दार हुने खेलमा लागेको छ ।

जसको विवरणपत्रमा वर्षौदेखि घाटामा रहेको र आगामी ३ वर्षसम्म सुको मुनाफा खुवाउन नसक्ने कम्पनीले बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएको छ । जसबाट सर्वसाधारण लगानीकर्ताले घाटामा रहेको कम्पनीलाई दान स्वरुप आईपीओ भरिदिनुपर्ने परिस्थिति सिर्जना भएको छ ।

अनलाईन सेवा मार्फत आईपीओ भर्न सक्ने व्यवस्था भएपछि धेरै सर्वसाधारण लगानीकर्तालाई कम्पनीको वित्तीय विवरण तथा अवस्थाको वारेमा खासै जानकारी नहुने र सहज रुपमा वित्तीय विवरण साइटमा हेर्न नसक्ने कारणले पनि सर्वसाधारण लगानीकर्ता पटक पटक यस्ता धरासायी कम्पनीबाट ठगिदै आइरहेका छन् । र त्यसको श्रृखलाको नेतृत्व अहिले रिपब्लिका मिडिया हाउसले गर्दैछ ।


रिपब्लिक मिडिया आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासमा ४७ करोड २४ लाख १० हजार ७५२ रुपैयाँ नोक्सानमा छ । आव २०७९/०८० को असार मसान्तसम्म कम्पनी नाफामा जाने सम्भावना छैन । नोक्सान भने केही घटाएर ४६ करोड ३५ लाख ५८ हजार ९२१ रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ ।

आगामी २ वर्षसम्म पनि कम्पनी नाफामा नजाने देखिन्छ । कम्पनीले गरेको प्रक्षेपण हेर्ने हो भने आगामी आर्थिक वर्ष २०८०/०८१ मा ४० करोड ९९ लाख ४ हजार ४९१ रुपैयाँ नोक्सानीमा रहनेछ भने आव २०८१/०८२ मा ३१ करोड ६४ लाख ४७ हजार ७८४ रुपैयाँ नोक्सानमा रहने प्रक्षेपण गरिएको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि चालू आवको चैत मसान्तसम्ममा ७ रुपैयाँ २२ पैसा छ । आवको अन्त्यसम्ममा १ रुपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ ।

यस्तै आव २०८०/०८१ मा ५ रुपैयाँ ५५ पैसा र आव २०८१/०८२ मा ९ रुपैयाँ ६६ पैसा हुने प्रक्षेपण छ । अहिले प्रतिकित्ता १०० रुपैयाँ लगानी गरेको कम्पनीबाट आव २०८१/०८२ मा ९ रुपैयाँ ६६ पैसा आम्दानी हुने देखिन्छ ।

यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आवको चैत मसान्तसम्म ८६ रुपैयाँ १३ पैसा छ । आवको अन्तिमसम्ममा ९९ रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण छ । यस्तै आव २०८०/०८१ मा १०७ रुपैयाँ ९४ पैसा र आव २०८१/०८२ मा १२० रुपैयाँ ४१ पैसा रहने प्रक्षेपण गरिएको छ ।

कम्पनीको वित्तीय अवस्थामात्रै नभएर रेटिङले पनि कम्पनीको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता उच्च जोखिम रहेको देखिएको छ । कम्पनीले ‘बी प्लस’ रेटिङ पाएको छ । वित्तीय अवस्था कमजोर भएको कम्पनीले आईपीओमार्फत् सर्वसाधारणबाट करोडौं संकलन गरेर आफ्नै जग्गामा आधुनिक बहुद्देश्यीय भवन निर्माण गर्ने योजना बनाएको छ ।

यस कम्पनीमा लगानी गरेर लगानीकर्ताले मुनाफा पाउनेभन्दा पनि लगानी गरिएको लगानी नै डुब्ने अत्याधिक सम्भावना रहेको छ । किनभने कम्पनी केहि वर्षदेखि निरन्तर घाटमा रहेको र सञ्चालन खर्च समेत धान्न नसकिरहेको अवस्थामा डिजिटल पत्रकारिताको बजारले पेपर मिडियालाई विस्थापित गर्दै लगिरहेको परिस्थितिमा बजार ट्रेण्ड अनुसार चल्न नसक्दा पेपर मिडियाहरू घाटमा गहिरहेको देखिन्छ । जसको प्रथम पदप्रदर्शक रिपब्लिका मिडियाले अग्रस्थान ओगटेको छ । यहाँ लगानी गर्नु भनेको लगानीकर्ता डुब्नुनै हो भन्ने अनुभवी सेयर बजारका सेयर लगानीकर्ताको भनाइरहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स