मौद्रिक नीतिमार्फत् पुँजी बजारमा देखिएको ग्रहण हट्ला

काठमाडौं । लगातार ३ दिनदेखि रिभर्स गियरमा रहेको नेपाल स्टकएक्सचेञ्ज (नेप्स)ले बुधाबार अघि बढ्ने कोशिस गरेको छ । बुधबार सेयर कारोबार २६१५.३६ अंकबाट शुरु भएको थियो । कारोबार अवधिभर नेप्से ५०.५८ अंकले बढेर २६६५.९४ विन्दुमा पुगेको छ ।

यो साता नेप्से २८१९.७५ अंकबाट शुरु भएको थियो । साताको पहिलो ३ दिनको कारोबारमा नेप्सेले २०४.३९ अंक गुमाइसकेको थियो । ३ दिनको अवधिमा सेयर बजार २ सय अंकभन्दा माथिले घट्दा सेयर लगानीकर्तामा केही निरासा पैदा हुन थालिसकेको छ । मलिन बन्दै गएको लगानीकर्ताको अनुहारमा बुधबारको नेप्से सूचकले भने केही राहत दिने काम गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति जारी गर्नु अघिसम्म पुँजी बजार गुलजार बन्दै थियो । राष्ट्रले साउन २९ गते (शुक्रबार)जारी गरेको मौद्रिक नीतिले पुँजी बजारलाई लगाम कस्ने काम गर्यो । मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जाको सीमा तोकियो । मौद्रिक नीति पूर्व लगानीकर्ताले आफूसँग भएको सेयर धितोले धान्नेगरी कर्जा दिन पाउँथे । जति धेरै सेयरमा लगानी त्यति धेरै कर्जा । तर मौद्रिक नीतिले एउटा संस्था तथा व्यक्तिले एक वित्त संस्थाबाट ४ करोड र अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउँने व्यवस्था गर्यो ।

मौद्रिक नीतिको अघिल्लो दिन साउन २८ गते (बिहीबार) नेप्से ३१७८.९१ विन्दुमा थियो । मौद्रिक नीति जारी भएको ४ करोबार दिन अर्थात् भदौ २ गते (बुधबार) नेप्से इतिहासकै उच्च अंक ३१९९.०३ विन्दु छोएको थियो ।

त्यस पछि भने बजार लगातार रुपमा घट्दै आएको छ । उच्चतम विन्दुपछि सेयर बजारले ५८३.६७ अंकको गिरावट सामना गरिसकेको छ । नेप्स उच्च विन्दुमा पुगेपछि २६ दिन कारोबार भएको छ । उक्त अवधिमा नेप्सेले कारोबार दिनमा औसत २२ अंक गुमाउँदै आएको छ ।

मौद्रिक नीति जारी हुनु अघि पुँजी बजारमा लगातार १६ दिन १० अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको थियो । मौद्रिक नीति जारी भएको शुरुवाती १० करोबार दिनमा पनि १० अर्ब माथिको कारोबार भएको थियो । भदौ १६ गते यता जम्मा १ दिन १० अर्ब माथिको कारोबार भएको छ । भदौ २० गते ११ अर्ब १४ कारोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस पछिको १७ करोबार दिनमा एक पटक पनि नेप्सेले १० अर्ब माथिको कारोबार गर्न सकेको छैन ।

सेयर धितो कर्जामा कडाई हुँदा ठूला लगानीकर्ताहरुले बैंकबाट ऋण लिन पाइरहेका छैनन् । साथै, सेयर धितोमार्फत् कर्जा लिएकालाई बजार घटेकाले बैंकहरुले कर्जा तिर्न दवाव दिइरहेका छन् । बैंक तथा वित्त संस्थाबाट ठूला लगानीकर्ताले १२ करोड रुपैयाँ भन्दा माथि कर्जा पाउने सिधा बाटो बन्द भएको छ ।

ठूला लगानीकर्ताले बैंकबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्न नपाउँदा पछिल्लो समय कारोबार रकममा कमि आउँनुका साथै किन्ने भन्दा बेच्ने बढी हुँदा पुँजी बजार घटिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स