काठमाडौं । घोराही सिमेन्टले आफ्नो उत्पादन बिक्रीबाट १ अर्ब ८३ करोड २४ लाख ३३ हजार आम्दानी गरेर कुल ४८ करोड ८९ लाख ८८ हजार रुपैयाँ नाफा गरेको छ । अन्य वित्तीय खर्च र ह्रास कट्टिपछि कम्पनीको कर अघिको खुद नाफा १ करोड ५८ लाख २३ हजार रुपैयाँ मात्रै देखिएको छ ।
३ सय ३५ रुपैयाँ प्रिमियम जोडेर ४ सय ३५ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको घोराही सिमेन्टको प्रति सेयर आम्दानी भने ५० पैसा मात्रै कम्पनीको पुस मसान्तसम्मको तथ्यांकमा उल्लेख गरेको छ ।
चालु वर्षको आधा भन्दा बढी समय बितिसक्दा पनि कम्पनीले अघिल्लो वर्षको आधा पनि बिक्री गर्न नसक्नुले कम्पनीको व्यवसाय विस्तारै घट्दै गएको संकेत गर्दछ । बजारमा सिमेन्टको मागमा कमी आएर सिमेन्टको बिक्री गत वर्ष भन्दा घट्दै गए पनि कम्पनीले चालु आवको असारमसान्तसम्म प्रति सेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा पुर्याउने प्रक्षेपण गरेको छ ।
चालु आवमा निर्माण क्षेत्रको वृद्धि दर नै २.६२ प्रतिशतले ऋणात्मक हुने राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपणले चालु आवको बाँकी समय पनि सिमेन्ट उद्योगको लागि सन्तोषजनक भने देखिएको छैन ।
कम्पनीले आव २०७७/०७८ मा ५ अर्ब ९ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर बिक्री गरेकोमा गत वर्ष यो घटेर ४ अर्ब ८० करोड रुपैयाँमा सिमित भएको छ ।
कम्पनीको निष्काशनपछि चुक्ता पुँजी ७९ करोड ४४ लाख रुपैयाँ वृद्धि भएर ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशन नहुँदै ५० पैसा मात्रै प्रति सेयर आम्दानी देखाएको कम्पनीलाई प्रक्षेपित प्रति सेयर आम्दानी पुर्याउन भने मुश्किल नै देखिएको छ ।
कम्पनीले आव २०८०/०८१ मा १६ रुपैयाँ ३३ पैसा र आव २०८१/०८२ मा २४ रुपैयाँ ५८ पैसा प्रति सेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको छ ।
कम्पनीको १७ लाख ९७ हजार मेट्रिक टन क्लिंकर र १० लाख ४० हजार मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता भए पनि आव २०७९/०८० मा क्लिकरको ५४ प्रतिशत र सिमेन्टको ७२ प्रतिशत मात्रै क्षमता उपभोग हुने कम्पनीको विश्लेषण छ ।
कम्पनीले आव २०८०/०८१ मा ६४ प्रतिशत र आव २०८१/०८२ मा ७० प्रतिशत क्लिंकर क्षमताको उपभोग गर्नेछ भने सिमेन्टमा आव २०८०/०८१ मा ७९ प्रतिशत र २०८१/०७२ मा ८७ प्रतिशत क्षमता उपभोग गर्ने कम्पनीको प्रक्षेपण छ ।
कम्पनीले निष्काशन गरेको सबै आइपीओको सेयर बिक्री भएमा प्रिमियम रकम बापत स्थानीय उद्योग प्रभावित बासिन्दाबाट मात्रै १ अर्ब १९ करोड १५ लाख ७ हजार रुपैयाँ र सर्वसाधारण र वैदेशिक रोजगारमा गएका कामदारबाट २ अर्ब ५२ करोड ७१ लाख १४ हजार ६ सय ८५ रुपैयाँ गरी कुल ३ अर्ब ७१ करोड ८६ लाख २१ हजार ६ सय ८५ रुपैयाँ रकम प्रिमियमबापत् संकलन गर्ने देखिन्छ ।
प्रिमियमबाट संकलित रकम कम्पनीले बैंकबाट लिइएको ३ अर्ब ४१ करोड ७९ लाख ७९ हजार रुपैयाँ कर्जा चुक्ता गर्न खर्च गरिने घोराही सिमेन्टको विवरणमा पत्रमा उल्लेख छ ।