काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि वैशाख ३१ गतेदेखि र आम सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो । त्यस्तै कम्पनीका कर्मचारीलाई १ लाख ७४ हजार १ सय २० कित्ता सेयर, सामुहिक लगानी कोष योजनाहरुलाई २ लाख १७ हजार ६ सय ५० कित्ता र आम सर्वसाधारणलाई ३५ लाख २५ हजार ९ सय ३० कित्ता सेयर निष्काशन गर्ने छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ १४ गतेसम्म आवेदन दिन सक्ने छन् । उनीहरुले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिन सक्ने छन् । त्यस्तै सर्वसाधारणले आवेदन दिंदा छिटोमा जेठ ३० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् । सर्वसाधारणले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले कार्तिक २ गते सेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।