काठमाडौं । लामो समयको प्रतिक्षा पछि नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । हिजो नयाँ स्टक एक्सचेञ्जको लागि आवेदन दिने अन्तिम दिनसम्म तीन वटा स्टक एक्सचेञ्जले आवेदन दिएका छन् ।
पहिलो पटक आवेदन खोलेका बेला नै नयाँ स्टक एक्सचेञ्जमा प्रमोटर बन्न चाहनेले एक सय रुपैयाँको प्रमोटर सेयरलाई प्रतिकित्ता ३ सय रुपैयाँ राख्न लगाएर लाइसेन्स हात पार्ने तयारीमा दिपक भट्टको समूह जुटेको थियो । इन्फिनिटी होल्डिङसका दीपक भट्टले यसको सेटिङ मिलाएका थिए ।
विशेष गरी सार्वजनिक संस्थानको नियुक्तिमा सेटिङ मिलाएर कमिशनको खेलोमा लाग्ने गरेका भट्ट हिमालयन स्टक एक्सचेञ्चमा भने प्रमुख सेयरधनीका रुपमा देखिएका छन् । आफू फ्रन्टमा नदेखिएरै गोटी चलाउन सिपालु भट्टले ३ अर्बको स्टक एक्सचेञ्जको लाइसेन्स हात पार्न थप ६ अर्ब खर्च गर्न लागेका छन् । अहिले आवेदन दिँदा नै स्टक एक्सचेञ्जलाई आवश्यक पर्ने चुक्ता पुँजीको १२० प्रतिशत रकम डिल भइसकेको छ । लाइसेन्स पाउने बेलासम्ममा बाँकी रकम थप गरेर कुल ९ अर्ब खर्च गरेर ३ अर्बको कम्पनीको लाइसेन्स वितरण हुनेछ ।
अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि यस विषयमा ज्ञान छ । किन कि पहिलाको यो सेटिङमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालगायत आरजू राणाको पनि ठूलो खेलो छ । जुन सरकार आएपनि अवसर र लाभ लिन जान्ने भट्टले यस पटक देशका ठूला घरानाका व्यवसायीलाई बोकेका छन् । भट्ट नेपाल आयल निगम प्रमुख नियुक्तिदेखि यस्ता लाइसेन्स वितरण प्रक्रियामा होस् जहाँ पनि जोडिएका हुन्छन् ।
बीमा बजारमा गत वर्ष हिमालयन रि इन्स्योरेन्स आयो, बीमा प्राधिकरणले लघु बीमाको लाइसेन्स वितरण गर्यो, अब अहिले बोर्डले नयाँ स्टक एक्सचेञ्जदेखि कमोडिटी बजार र नयाँ ब्रोकर लाइसेन्ससम्म दिने तयारी गरेको छ । यो सबै प्रक्रियामा भट्टनै हावी भएका छन् र यो पटक पनि मोटो रकम कमिशन बुझाएर सो लाइसेन्स आफ्नो हातमा पार्न लागेका हुन् ।
अर्कोतर्फ अन्नपूर्ण स्टक एक्सचेञ्ज दर्ता भएको छ । त्यहाँ पनि हेलिकप्टर तथा मिडियाका मालिक क्याप्टेन रामेश्वर थापासहितको टिम छ । यो टिमलाई पनि कम आकलन गर्न सक्ने देखिदैन । शाम, दाम गरेर भएपनि यो टिम पनि आफ्नो हातमा स्टक एक्सचेञ्जको लाइसेन्स हात पार्ने उत्तिकै सक्रिय भएको छ ।
बोर्डमा आवेदन दिएको अर्को कम्पनी नेशनल स्टक एक्सचेञ्जको मुख्य भुमिकामा दीपक तिमल्सिना रहेका छन् । एनआरएनका सस्थापक अध्यक्ष उपेन्द्र महतो, जिवा लामिछाने, कूल आचार्य लगाएको लगानी रहेको उक्त स्टक एक्सचेञ्जले पनि आफ्नै तरिकाबाट काम लाइसेन्स हात पार्ने डौडधूपमा रहेको छ । नेशनलमा दीपक तिमिल्सिनासहित केडिया ग्रुप, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ ।
हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र भट्ट , नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मिस्सुबीसी कम्पनीको आधिकारिक बिक्रेता आषिश श्रेष्ठ, शिभम् सिमेन्टका सञ्चालक तथा सायोमी मोवाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल लगायत छन् ।
अन्नपूर्ण स्टक एक्सचेन्जमा क्याप्टेन रामेश्वर थापा सहित सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, शेखर सुवेदीलगायतको लगानी रहेको छ ।