काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसका लागि विद्युत नियमन आयोगमा पूवीस्वीकृतिका लागि आवेदन दिन निर्णय पनि कम्पनीले गरेको छ।
उक्त हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रा.लि.ले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय कम्पनीले जनाएको छ।
यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ।
विद्युत नियमन आयोगबाट पूर्व स्वकृति प्राप्त भए पश्चात कम्पनीको विशेष साधारण सभामा उपरोक्त हकप्रद शेयर निस्कासनको स्विकृतीको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।