सेबोनको कारबाहीमा ज्ञानेन्द्रलाल प्रधान, ७५ हजार नगद जरिवानासहित कुनैपनि कम्पनीमा १० वर्षसम्म संचालक बन्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गरेको छ ।

बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले प्रधानलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावलीविपरीत कारोबार गरेको ठहर गर्दै नगद जरिवानासहित कारबाही गर्ने निर्णय गरेको हो।

बोर्डले प्रधानलाई ७५ हजार नगद जरिवानाको साथै १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनीको संचालक बन्न नपाउने गरि कारबाही गरेको हो ।

कानुन विपरित अवैध रुपमा आफु पदमा हुँदा नै दोस्रो बजारमा सेयर खरिद बिक्री गरेको पुष्टि भएपछि बोर्डले उनलाई कारबाही गरेको हो।

धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०८ अनुसार उनलाई संचालक बन्न प्रतिबन्ध लगाईएको बोर्डले जनाएको छ । त्यस्तै बोर्डले उनलाई धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रूपैयाँ जरिबाना समेत गरेको छ । यद्यपि उनी यस निर्णय विरुद्द ३५ दिन भित्र उच्च अदालत जान सक्ने छन् ।

उनले नेपाल हाइड्रो डेभलपर्स कम्पनीको अध्यक्ष हुँदा र अध्यक्ष पदबाट हटेको १ वर्ष पुरा नहुँदै आफ्नो र आफ्नो परिवारका सदस्यका नाममा भएको सेयर बिक्री गरेको बोर्डले जनाएको छ ।

धितोपत्र दर्ता निष्कासन नियमावली ३८ (१क) अनुसार कुनै पनि सूचीकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स