सातामा पौने ३० अर्बको सेयर कारोबार, बैकिङ समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । गत साता २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार बराबरको ६ करोड ४ लाख ७३ हजार १६३ कित्ता सेयर कारोबार भएको छ । अघिल्लो साता पाँच दिन कारोबार भएको थियो । सो कारोबार दिनमा ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार बराबरको ७ करोड ४ लाख ४७ हजार ७१७ कित्ता सेयर कारोबार भएको थियो ।

एक दिन कम कारोबार भएको यो साता अघिल्लो साताभन्दा ८ अर्ब ५५ करोड ४० लाख ११ हजार रुपैयाँ कम कारोबार भएको छ । अघिल्लो साताको तुलनामा गत साता ९९ लाख ७४ हजार ५५४ कित्ता कम सेयर कारोबार भएको हो ।
साताको दोस्रो कारोबार दिन सोमबार ८ अर्ब ४९ करोडभन्दा बढी, मंगलबार ७ अर्ब ३६ करोडभन्दा बढी, बुधबार ६ अर्ब १७ करोडभन्दा बढी र बिहीबार ७ अर्ब ७२ करोडभन्दा बढीको सेयर कारोबार भएको हो ।

यो साता नेप्से परिसूचकमा निकै उतारचढाब देखिएको छ । आइतवार सार्वजनिक विदापछि सोमवार खुलेको बजार ११४ दशमलव शून्य २ अंकले घटेको थियो । मंगलवार १३ दशमलव ८३ अंकले बढेको थियो । बुधवार १०४ दशमलव ८८ अंकले बढेको बजार बिहीवार २ दशमलव ७० अंकले बढेर बन्द भएको छ ।

गत साताको अन्तिम कारोबार दिन २ हजार ८१२ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८१९ दशमलव ६६ विन्दुमा पुगेर बन्द भएको छ । गत साताभन्दा यो साता नेप्से परिसूचक ७ दशमलव २८ अंकले माथि उक्लिएको हो ।

सेन्सेटिभ इन्डेक्स पनि यो साता ४ दशमलव २४ अंकले बढेको छ । गत साता ५२५ दशमलव ७८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५३० दशमलव शून्य २ विन्दुमा पुगेको हो ।

गत साता कारोबार रकम घटेपनि लगानीकर्ताहरुको सम्पत्तिको मूल्य भने बढेको छ । यो अवधिमा कुल बजार पूँजीकरण ११ अर्ब ४० करोड ८० लाख ९० हजारले बढेको छ । अघिल्लो साता ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजार रहेको कुल बजार पुँजीकरण गत साता ३९ खर्ब ४७ अर्ब १५ करोड ७९ हजार कायम भएको हो ।

पछिल्लो समय सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव सार्वजनिक गर्न थालेसँगै बजारमा लगानीकर्ताहरु सकारात्मक बन्न थालेका छन् ।

बैंकिङ समूहको परिसूचक सर्वाधिक बढ्यो

गते साता बैंकिङ समूहको परिसूचक सर्वाधिक ३ दशमलव १८ प्रतिशतले बढेको छ । बैंकहरुले लाभांश घोषणा गर्न शुरु गरेसँगै यो क्षेत्रको सेयरमा लगानीकर्ताहरु आकर्षित हुन थालेका हुन । जसको प्रत्यक्ष असर बैंकिङ समूहको परिसूचकमा परेको हो ।

गत साता माछापुच्छे«, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेका छन् ।। सानिमा बैंकले १७ दशमलव ८९ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेशनलले १६ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको हो । गत वर्षको भन्दा यस वर्ष तीन ओटै बैंकहरुले बढाएर लाभांश प्रस्ताव सार्वजनिक गरेका हुन् ।

धितोपत्र बजार बुलिस ट्रेनमा गएको बेलामा समेत वाणिज्य बैंकहरूमा लगानीकर्ताको खासै आर्कषण देखिएको थिएन । अहिले बैंकहरूलेले सार्वजनिक गरेको आकर्षक लाभांशका कारण अबको दिनमा यो क्षेत्रप्रति लगानीकर्ताहरूको आकर्षण बढ्ने अपेक्षा लगानीकर्ताहरुको छ । बैंकिङसँगै गत साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत बढेको छ ।

बैंकिङ समूहको नेप्से परिसूचक बढेपनि अन्य समूहको परिसूचक भने घटेको छ । यो साता व्यापारिक समूहको सर्वाधिक ३ दशमलव ७७ प्रतिशत र जलविद्युतको दोस्रोमा ३ दशमलव १० प्रतिशतले नेप्से परिसूचक घटेको छ ।

त्यस्तै लगानी समूहको २ दशमलव ४३ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव १९ प्रतिशत, अन्यको २ दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४३ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव २७ प्रतिशत, वित्तको १ दशमलव २० प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३८ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स