के हो इन्साइडर ट्रेडिङ ?

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन नियमको व्यवस्थाबमोजिम लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवम् सूचना सार्वजनिक नगरी उक्त जानकारी एवम् सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ ।

भित्री सूचना वा जानकारी भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्छ ।

कस्ता व्यक्तिले गर्छन यस्तो कारोबार ?

संगठित संस्थाका सञ्चालक, कर्मचारी वा सेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति भित्री कारोबारमा संलग्न हुन सक्छन् ।

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा, अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेको भएमा त्यस्ता कारोबारलाई झुट्टो कारोबारका रुपमा लिने गरिन्छ ।

मूल्यमा उतार चढावः कसैले हुँदै नभएको वा कृत्रिम वा झुट्टो कारोबार गरी गराइ धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानिनेछ ।

यस प्रकारको कारोबार गर्न धितोपत्रसम्बन्धी ऐननियमले बन्देज गरेको छ । साइडर ट्रेडिङमा कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखापरीक्षकलगायतको संलग्नता हुने सम्भावना उच्च हुन्छ ।

यस्तो छ कसुर तथा दण्ड सजाय

भित्री कारोबारः (१) कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ ।

स्पष्टीकरण ः यस उपदफाको प्रयोजनको लागि ‘भित्री सूचना वा जानकारी’ भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनैखास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भित्री कारोबार भएको भन्ने कारणले मात्र भइसकेको कारोबारमा कुनै असर परेको मानिने छैन ।

के छ सजाय ?

भित्री सूचना सार्वजनिक गरी झुटो कारोबार गरेमा, मूल्यमा उतारचढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र एक वर्ष कैद वा दुवै कारबाही हुने उल्लेख छ ।

झुक्याउने विवरण दिएमा, जालसाजी युक्त कारोबार गरेमा, लिखत विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा १ देखि ३ लाख जरिवाना, २ वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था रहेको छ । ऐनमा भएको कुरा बर्खिलाप गरे ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स