काठमाडौं । सगरमाथा जलविद्युतले आज (चैत ८ गते) देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो सेयरका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । निष्काशन बन्द छिटोमा चैत १२ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ ।
कम्पनीले सञ्चालन गरिरहेको ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार ७७ रुपैयाँ रहेका छ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.०४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.४० वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति ३० वर्ष ७ महिना बाँकी रहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।