नेप्सेमा १५० अर्ब मूल्य बराबरको सेयर सूचीकृत, उद्योग, होटल, ट्रेण्डिङ र अन्य कम्पनीको सेयर हिस्सा नै देखिएन

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म १ खर्ब ५० अर्ब ६७ करोड मूल्य बराबरको १ अर्ब ३४ करोड कित्ता सेयर सूचीकृत भएको छ । नेपाली सेयर बजारमा सबैभन्दा बढि वाणिज्य बैंकहरूको सेयर हिस्सा ५६.६ प्रतिशत रहेको छ ।

नेपालको सेयर बजारमा ८५ अर्ब रुपैयाँ मूल्य बराबरको १ अर्ब कित्ता सेयर वाणिज्य बैंकको रहेको छ ।

सूचीकृत सेयरमध्ये बीमा कम्पनीहरूको हिस्सा ५.५ प्रतिशत रहेको छ । बीमा कम्पनीहरूको ८ अर्ब ३१ करोड मूल्य बराबरको ८ करोड ३१ लाख २१ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत भएका कम्पनीमध्ये माइक्रोफाइनान्सको हिस्सा ०.६ प्रतिशत रहेको छ । माइक्रोफाइनान्स कम्पनीहरूको माघ महिनासम्म ८४ करोड ३८ लाख रुपैयाँ मूल्य बराबरको ८४ लाख ३८ हजार कित्ता सेयर कारोबारमा रहेको हो ।

विकास बैंकभन्दा माइक्रोफाइनान्स कम्पनीहरू बढी देखिएकोले सूचीकृत सेयरमा माइक्रोफाइनान्सको हिस्सा बढी देखिएको हो ।

कुल सेयर सूचीकृतमा विकास बैंकको हिस्सा भने ०.५ प्रतिशत रहेको छ । विकास बैंकरूको ७४ करोड मूल्य बराबरको ७४ लाख ५ हजार कित्ता सेयर कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसरी नै फाइनान्स कम्पनीको सेयर हिस्सा थोरै देखिएको छ भने नेप्सेमा माघ महिनासम्म सूचीकृत भएका सेयर मूल्य र भ्यालूका आधारमा उत्पादनमूलक उद्योग, होटल, ट्रेण्डिङ र अन्य कम्पनीको सेयर सूचीकृत संख्या र त्यसको मूल्य देखाइएको छैन ।

त्यसैगरी उद्योगतर्फ हाइड्रोपावर कम्पनीको सेयरको हिस्सा १०.८ प्रतिशत रहेको छ । हाइड्रोपावर कम्पनीहरूको १६ अर्ब २७ करोड मूल्य बराबरको १६ करोड २७ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

राष्ट्र बैंकले वित्तीय बजारमा प्रयोग गरेको मौद्रिक उपकरणसहितको सेयर सूचीकृत संख्या र यसको मूल्य हो । राष्ट्र बैंकको तथ्यांक अनुसार सो सेयर सूचीकृत कित्तामध्ये ४३ प्रतिशत साधारण सेयर हो भने २.४ प्रतिशत राइट सेयर हो ।

सूचीकृत सेयर संख्यामध्ये ९.५ प्रतिशत बोनस सेयरको हिस्सा छ भने सरकारी ऋणपत्रको हिस्सा २३.२ प्रतिशत रहेको छ । डिवेञ्चरको हिस्सा १८.९ प्रतिशत र म्युचअल फण्डको हिस्सा ३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स