काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै ४१.५६ गुणाबढी आवेदन परेको छ ।
बिहीबार साँझ ५ः०८ बजेसम्ममा ३ लाख २ हजार १४१ जना आवेदकबाट ३३ करोड ६४ लाख ६५ हजार रुपैयाँ बराबरको ३३ लाख ६४ हजार ६५० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
जुन सर्वसाधारणलाई निष्कासन गरेको ८० हजार ९५० कित्ता सेयरको ४१.५६ गुणा बढी हो ।
कम्पनीले आज फागुन १८ गतेदेखि सर्वसाधारणका लागि ८० हजार ९ सय ५० कित्ता सेयर निष्कासन गरेको हो ।
लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्काशन गरेको हो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
माग भन्दाबढी आवेदन परेकोले लघुवित्तको आईपीओमा लगानीकर्ताले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुपित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।