सेयर धितो कर्जाको सीमा नहटेसम्म बजार दीगो हुन सक्दैनः निर्मल प्रधान

लगातार घटिरहेको सेयर बजार मंगलबार १३.८३ अंकले बढेको थियो । आज (बुधबार) सेयर बजार १०४.८८ अंकले बढेको छ । सेयर बजार एक दिनमै तेहोरो अंकको उछाल लिएसँगै सेयर बजार पुन बढ्नेमा लगानीकर्ताहरु आशावादी देखिएका छन् ।

सरकार, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक लगानीकर्ताको पक्षमा नभएसम्म सेयर बजार दीगो रुपमा बढ्ने सम्भावना कम रहेको सेयर बजारका बादशाह निर्मल प्रधान बताउँछन् ।

‘सेयर कर्जामा राष्ट्र बैंकले अंकुश लगाएको छ । बैंकहरु ब्याज बढाउन उन्मुख छन्,’ प्रधान भन्छन्, ‘राष्ट्र बैंकले ४ र १२ करोडको सीमा लगाएर सेयर किन्ने बाटो बन्द गरेको छ ।’ सेयर किन्ने बाटो बन्द भएको अवस्थामा बजार दीगो रुपमा कसरी अघि बढ्न सक्छ भनेर प्रधान प्रश्न गर्छन् ?

सेयर खरिद गर्ने प्रयाप्त रकम लगानीकर्तासँग भयो भने सेयर बजार बढ्छ । कर्जा लिएर नै लगानीकर्ताले सेयर खरिद गर्ने हो । सेयर खरिद गर्नेको संख्या धेरै भयो भने मात्र बजार बढ्ने हो । राष्ट्र बैंकले त बचतबाट सेयर खरिद गर भन्ने नीति ल्याएको छ । बचतको रकमबाट सेयर किनेर कहिलेसम्म र कतिले बजार बढ्छ ?

जबसम्म राष्ट्र बैंकले कर्जा लिने सीमा बढाउँदैन, तबसम्म सेयर बजार स्थायी रुपले बढ्न सक्दैन । सेयर धितो सीमाका कारण धेरै लगानीकर्ता सेयर बेचेर कर्जा तिर्न बाध्य छन् । उनी सेयर बेच्दै कर्जा तिर्नु शुरु गरिसकेको बताउँछन् ।

बैंकबाट ऋण नलिई सेयरमा लगानी गर्छु भन्नेले १ करोड, २ करोड, १० करोड कति लगानी गर्न सक्छन् । धेरै लगानी गर्छु भन्नेले बैंकबाटै ऋण लिने हो । मौद्रिक नीति पछि त सेयर किन्न चाहने मान्छेलाई पनि बैंकले कर्जा दिँदैन । सेयर बजारमा थप पैसा लगानी नगरी बजार थप कसरी बढ्न सक्छ ?

सेयर धितो कर्जा लिएकालाई पनि बैंकले कर्जा तिर्न दवाव दिइरहेको छ । यसरी त बजार बढ्न सक्दैन । राष्ट्र बैंकले आफ्नो नीति नसच्याएसम्म लगानीकर्तासँग सेयर खरिद गर्ने रकमको अभाव रहन्छ । सेयर खरिदको चाप नबढेसम्म बजार दिगो रुपमा अघि बढ्न सक्दैन ।
(प्रधानसँगको कुराकानीको सम्पादित अंश )

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स