मोदी इनर्जीले फागुन २५ गतेबाट आईपीओ निष्कासन गर्ने

काठमाडौं । मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ।

जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा–३, मोदी गापा–५, मोदी नपा–२, मोदी गापा–६ र कुश्मा नपा–८ का बासिन्दाहरुका लागि निष्कासन गरिनेछ।

बाँकी १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी ३६ लाख १० हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित स्थानीयले यो आईपीओमा न्यूनतमा १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

स्थानीयले पर्वतको कुस्मास्थित सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक र कुमारी बैंकबाट खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाले भने नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्छन्।

स्थानीयले यो आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री अवधि चैत २४ गतेसम्म लम्बिन सक्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने यो आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन पाउनेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स