काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिमदिनसम्म १०४.९० गुणा बढी आवेदन परेको छ ।
सोमबार साँझ ५ः१० बजेसम्ममा १६ लाख ९ हजार ५८६ जना आवेदकबाट १ अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ७८ लाख ८ हजार कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
जुन सर्वसाधारणको लागि निष्कासन गरेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरको १०४.९० गुणा बढी हो ।
लघुवित्तले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर सर्वाजनिक निष्कासनका लागि छुट्याएको थियो ।
सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिएका छन्।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जस अनुसार १६ हजार ९७५ जनाले मात्रै सेयर पाउनेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ ।