काठमाडौं । पछिल्लो समय सेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या ५५ लाख पुगेको छ । सो खातामध्ये १७ लाख खातामा कुनै पनि सेयर ब्यालेन्स नभएको सीडीएस एण्ड क्लियारिङ (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए । ‘५५ लाख डिम्याट खातामध्ये १७ लाख ग्राहकका खातामा कुनै पनि सेयर छैन,’ उनले भने ‘यो खातामा सेयर संख्या शून्य खाता हो ।
सायद दोस्रो बजारमा कारोबार नगर्ने र आईपीओ भरे पनि नपरेका ग्राहकहरूको खाता हुन सक्छ । होल्डिङ नभएको खाता हो यो ।’ यी खातालाई निस्कृय खाता भन्न पनि मिल्दैन किनकी सेयर नपरेको पनि हुन सक्ने उनले बताए । यो बाहेक ३८ लाख डिम्याट खाता रहेको छ । सोमध्येबाट २५/२६ लाखले आईपीओ भर्ने गरेका छन् । त्यसरी नै ५ लाख खाता नवीकरण हुन बाँकी रहेको पनि सीडीएससीले जनाएको छ । ५ लाख खाता अझै नवीकरण हुन बाँकी छ, उनले भने ‘३ लाख ग्राहकको खाता भने दोहोरिएको देखिएको छ ।’
कोभिडका बेला ह्वात्तै बढेको डिम्याट खाताबाट अहिले पनि कोभिड यता डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढे पनि पछिल्लो समय घटेको छ । यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइने छैन । दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान रहेको सीईओ आचार्यले बताए ।
‘बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन्छन्, हाल नयाँ जलविद्युत कम्पनीसहित धेरैको आईपीओ आएपनि अघिल्ला वर्षको तुलनामा यो वर्ष खासै खाता खोल्ने नबढेको उनले बताए ।
कतिपयले प्राथमिक सेयर भर्नकै लागि पनि डिम्याट खाता खोल्ने गरेका छन् । हाल सेयर बजार ओर्लेका कारणले पनि डिम्याट खाता खोल्नेको संख्या घटेको हो । डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन् । दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन् ।
सबैभन्दा बढी/कम डिम्याट खाता जिल्ला १०/१० जिल्ला
डिम्याट खाता खोल्ने ग्राहक बढी भएका १० जिल्लामध्य काठमाडौंमा सबैभन्दा बढी ग्राहक रहेका छन् भने रुकुम सबैभन्दा कम डिम्याट खाता खोलिएको जिल्ला हो । काठमाडौं ६ लाख ८५ हजार ३७० जनाले डिम्याट खाता खोल्दा रुकुममा १४९ ले मात्रै डिम्याट खाता खोलेका छन् ।
काठमाडौंपछि झापामा २ लाख ३६ हजार १९५ ले खाता खोलेका छन् भने मोरङमा २ लाख २५ हजार ९७९ ले यस्तो खाता खोलेका छन् । कम खाता खोल्नको दोस्रो जिल्लामा नवलपरासी परेको छ भने तेस्रोमा मनाङ परेको छ ।
के हो डिम्याट खाता ?
अंग्रेजी शव्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शव्द नै डिम्याट हो। नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ । विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे ।
२०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो। हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफै जम्मा हुन्छ ।
प्राथमिक सेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो।
कसरी, कहाँ खोल्ने खाता ?
यो खाता ब्रोकर कम्पनीहरुमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ। यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । साथै विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ । सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन् ।
७६ वटा यस्ता निक्षेप सदस्य छन्। यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ । धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन्। केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन्। डिम्याट खाता खोलेपछि १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ ।
सो नम्वर पाएपछि मात्रै प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट खरिदबिक्री गर्न सकिन्छ । आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति सेयर छ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भए÷नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन्।