काठमाडौं । हिजो नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गरेर ‘घ’ वर्गका लघुवित्तलाई लगाम लगाएपछि आज बिहीबार सेयर बजारमा पहिरो गएको छ ।
राष्ट्र बैंकले नयाँ व्यवस्था अघि सारेर १५ प्रतिशत भन्दा बढी लाभांश प्रस्ताव गर्ने लघुवित्त कम्पनीहरुले १५ प्रतिशत भन्दा बढी रकमको १० प्रतिशतले हुन आउने रकम संस्थागत उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो । यसले पनि आम लगानीकर्ताको मनोबल घटेको हो । लगानीकर्ताको मनोबल घट्दा यसको असर सेयर बजारमा देखिएको छ ।
बिहीबार, नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ अंक विन्दुमा आइपुगेको छ ।
आज ६३ लाख २६ हजारको कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, ४० भन्दाबढी लघुवित्तहरुमा नकरात्मक सर्किट लागेको छ ।
यसका साथै राजनीतिक वृत्तमा पनि फरक माहोल सिर्जना हुँदा बजार घट्नलाई थप टेवा पुगेको हो । सरकार रहन्छ या ढल्छ र को राष्ट्रपति बन्छ भन्ने चासो बढ्दै गएको छ । आम लगानीकर्ताको बुझाइमा नीतिमा भन्दा पनि सरकार केन्द्रीत हुँदा बजारमा पटक पटक यस्तो असर देखिएको हो । आम लगानीकर्ताको बुझाइमा एमालेको सरकार भए पुँजी बजार बढ्ने र कांग्रेसको सरकार भए घट्ने भन्ने मनस्थितिले जरो गाडेको छ । सोही कारणले बजार आफूमा डिपेन्ड नभइ हुईममा लाग्दा यस्तो अवस्था आएको हो ।