भोलिबाट मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, कसले कसरी दिने आवेदन ?

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले भोलिबाट पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन १० गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले संखुवासभाका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ४२ हजार ५ सय ८३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीयलाई २ लाख ७१ हजार २ सय ९२ कित्ता सेयर र ति स्थान बाहेक संखुवासभा जिल्लाका अन्य स्थानीयलाई २ लाख ७१ हजार २ सय ९१ कित्ता सेयर निष्कासन हुनेछ ।

त्यस्तै १ लाख ८ हजार ५ सय १७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्कासन हुने छ ।

स्थानीयलाई निष्कासन गरिएको सेयरमा छिटोमा फागुन २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ९ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको सेयरमा फागुन २५ गतेसम्म मात्र आवेदन दिन सकिने छ। दुवै समुहले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् ।

सेयर निष्कासनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीयाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी(आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स