भूगोल इनर्जी र दोल्ती पावर कम्पनीको आईपीओ निष्कासन तथा बिक्री खुला

काठमाडौं । भूगोल इनर्जी र दोल्ती पावर कम्पनीको आईपीओ निष्कासन तथा बिक्री खुला भएको छ । दुर्वै कम्पनीले आज (फागुन ८ )गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणको आईपीओ निष्कासन गरेको हो ।

जसअनुसार, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँबराबरको सेयर बिक्री खुला गरेको हो। जसअनुसार १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गर्नेछ। यसमध्ये आयोजना अतिप्रभावित क्षेत्र नौमुलेद्वारी–३ दैलेखका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र त्यसबाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ।

१ लाख ८ हजार ८ सय ११ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्कासन गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेकाले यो आईपीओमा फागुन २५ गते गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमा फागुन २५ गते र ढिलोमा चैत १२ गते हुने छ।

दुवै समुहले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् । सेयर निष्कासनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

भूगोल इनर्जीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।

त्यस्तै, दोल्ती पावर कम्पनीले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई पहिलो चरणको सेयर निष्कासन गरेको हो ।

कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता सेयर निष्कासन गरेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र साविकका नौमुले र कालिका गाविसका स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता सेयर र यस बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता सेयर निष्कासन भएको छ ।

१ लाख ७ हजार २ सय ९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्कासन भएको छ ।

स्थानीयलाई निष्कासन गरिएको सेयरमा छिटोमा फागुन १५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ७ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको सेयरमा फागुन १५ गतेसम्म मात्र आवेदन दिन सकिने छ।

लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।

दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स