ब्रोकर कम्पनीले प्रति शाखा साढे करोड चुक्ता पुँजी पुर्याउनु पर्ने, यस्ता छन् अन्य नयाँ व्यवस्था

काठमाडौं । अब धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर कम्पनी)हरुले शाखा कार्यालय खोल्दा प्रतिशाखा १ करोड ५० लाख रुपैयाँको दरले चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । शाखा कार्यालय खोलिसकेका ब्रोकरहरूको चुक्ता पुाजी यो निर्देशिकाको व्यवस्थाअनुसार नपुगेको खण्डमा यो निर्देशिका प्रारम्भ भएको ६ महिनाभित्र पुर्याउनुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९’ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । ‘ब्रोकरले आफ्नो मुख्य कार्यालय रहेको जिल्लामा थप शाखा कार्यालय खोल्न सो पुँजी कायम गर्नु पर्नेछ’ निर्देशिकामा उल्लेख गरिएको छ । साथै निर्देशिकाले काठमाडांै उपत्यकाबाहिर कम्तीमा ३ वटा शाखा कार्यालय खोलिसकेपछि मात्र काठमाडौंमा उपत्यकाभित्र शाखा खोल्न पाउने व्यवस्था गरेको छ ।

शाखा कार्यालय खोल्न चाहने धितोपत्र दलाल व्यवसायीको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्नेछ भने शाखा कार्यालयमा खटाइने कर्मचारीहरुलाई जिम्मेवारी दिनुअघि ग्राहक व्यवस्थापन, कारोबार, कारोबार प्रणाली, राफसाफ तथा फछ्र्यौट, जोखिम व्यवस्थापन, धितोपत्र बजार सम्बन्धी प्रचलित कानून स्थापित संस्था तथा तिनीहरुको काम, कर्तव्य र अधिकार लगायतका विषयमा पर्याप्त जानकारी हुने गरी मुख्य कार्यालयबाट तालिमको व्यवस्थापन हुनुपर्नेछ ।

धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, धितोपत्र दलाल व्यवसायमा रहने वित्तीय जोखिमको न्यूनीकरण गरी सबल ढंगले शाखा कार्यालय संचालन गर्न तथा धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेको सन्दर्भमा सोही अनुरुप दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएकोले निर्देशिका जारी गरेको बोर्डले जनाएको छ ।

यस्तै, कुनै पनि ब्रोकर कम्पनीको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतले सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाएको भएमा सजाय पाएको मितिले एकवर्षसम्म सम्बन्धित कम्पनीले शाखा कार्यालय खोल्न नपाउने व्यवस्था गरिएको छ ।

एकपटक शाखा कार्यालय खोल्ने स्वीकृति पाएर तोकिएको समयमा खोल्न नसक्नेले अर्को एक वर्षसम्म पुनः शाखा कार्यालय सञ्चालनका लागि निवेदन दिन नपाउने व्यवस्था समेत भएको छ ।

शाखा कार्यालय खोल्नका लागि आवश्यक पूर्वाधारहरुको बोर्डबाट निरीक्षण समेत हुनसक्ने व्यवस्था गरिएको छ । ब्रोकरले एकपटकमा एउटा शाखा कार्यालय खोल्नका लागि मात्र निवेदन दिनसक्ने र स्वीकृति पाएको ३ महिनाभित्रमा शाखा सञ्चालनमा ल्याइसक्नुपर्ने नियम समेत बनाइएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/02/nirdeshika.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स