काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा भोलि शुक्रबार बिहान ९ बजे बाँडफाँट हुन लागेको हो ।
कम्पनीले माघ १८ देखि माघ २२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले आवेदन नदिएको सेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।
सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ ।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर-९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकारको ऊर्जा मन्त्रालयबाट २०६४ चैत २१ गते विद्युत उत्पादनको अनुमति पाएको थियो। कम्पनीले आयेजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन शुरु गरिसकेको छ ।