काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट मिति तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहिबार बिहान ९ः३० बजे क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीले माघ १३ गतेदेखि माघ १७ गतेसम्म सर्वसाधारणलाई १९ लाख ९२ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता सेयर छुट्याएको छ। कम्पनीले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।
कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।