काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आज (माघ १५ गते)देखि आईपीओ निष्कासन भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।
सोमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरी शंकर गाँउपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता सेयर बाँडफाँट गरिनेछ ।
प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नं। १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरूमा १ लाख १४ हजार कित्ता सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार कित्ता निष्कासन गरेको छ।
स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले माघ २९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।
स्थानीयले भने छिटोमा माघ २९ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने फागुन १५ गतेसम्म बिक्री खुला गरिनेछ।
स्थानीयले दोलखास्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, दोलखास्थित सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, माथिल्ला सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, काठमाण्डौस्थित प्रभु क्यापिटल, लक्ष्मी बैंकको चरिकोट तथा सुनखानी शाखामा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।