अर्थमन्त्री पौडेलको नियुक्तिसँगै ५ दिनमै १७९.०६ अंकले बढ्यो नेप्से, बजार बुलिस चरणमा प्रवेश

काठमाडौं । निरन्तर रुपमा १५ महिनादेखि बेयरिस चरणमा प्रवेश गरेको सेयर बजार सरकार परिवर्तनसँगै लगानीकर्तामा उत्साह छाएको छ ।

पुस ११ गते सरकार गठन हुने हल्लाले नै बजारमा तरङ्ग पैदा गरेको थियो । उक्त ५२.३४ अंकले बढेर १९१९.५४ अंकमा बजार बन्द भएको थियो । १२ गते सरकार गठनको चर्चाले दिन सेयर ५९.८७ अंकले बढेर १९८३.९५ अंकले वृद्धि भई बजारमा छुट्टै रौनकता सिर्जना भएको थियो ।

यो दुई दिनको कारोबारमात्रै नेप्से परिसूचक ११६.७४ अंकले वृद्धि भएको थियो । विष्णु पौडेलको अर्थ मन्त्रालयमा आगमनसँगै उद्योगी व्यवसायी तथा लगानीकर्ताहरू उत्साहित भएका छन् । विगतका अर्थमन्त्री जनार्दन शर्मा उद्योगी व्यवसायीहरूको कुरा हत्तपत्त सुनै नचाहने र सुनेता पनि समस्या कार्यान्वयनको चरणमा प्रवेश नै नगरिदिने, अर्थमन्त्रीको यो प्रवृत्तिदेखि उद्योगी व्यवसायीहरू निरास थिए ।

सेयर बजारका लागनीकर्ताहरूलाई अर्थमन्त्री जनार्दन शर्मा हत्तपत्त सहज रुपमा आफ्नो छेउछाउमा पर्न समेत दिँदैन थिए । जसको मनोविज्ञानले लगानीकर्ताहरू निरास भएर पुँजी बजारबाट पलायन भइरहेका थिए । पुँजी बजार एउटा यस्तो लगानीको क्षेत्र हो, जहाँ मास साइकोलोजीलाई सम्बोधन गर्न सकिएन भने यसको नकारात्मक प्रभाव पर्दछ । जसले उद्योग, व्यापार तथा व्यवसाय तथा पुँजी बजारलाई निरुत्साहित गर्नेछ र पुँजीकरण घट्दै जानेछ ।

उनको कार्यकालमा ४४ खर्ब पुँजीकरण भएको सेयर बजार उनले कार्यकाल छोड्दाखेरि २६ खर्बमा आईपुगेको छ । उनको १६ महिने कार्यकालमा १८ खर्बले सेयर बजारको पुँजीकरण घटेको छ । समग्रमा भन्नुपर्दा उनको कार्यकालमा लगानीकर्ताले १८ अर्ब अर्थात यस आर्थिक वर्षको बजेट बराबरको सम्पत्ति गुमाएका छन् ।

त्यसैले अर्थ मन्त्रालय यस्तो महत्वपूर्ण मन्त्रालय हो, नीतिगत र मनोवैज्ञानिक तरिकाले सन्तुलनमा राखेर चलाउन जानिएन भने उद्योगी व्यवसायी साथै राष्ट्र नै आर्थिक धरापमा पर्ने यस दृष्टान्तले पुष्टि गर्दछ ।

अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको टकरावले गर्दा देश आर्थिक रुपमा उधो गतितिर गयो भने सेयर बजारका दुई–चार जना लगानीकर्ता आत्महत्या गर्न बाध्य भए । त्यसैले पनि नीति निर्माण तहमा रहेका व्यक्ति उद्योगी व्यवसायीमैत्री भएनन् भने राज्य र व्यवसायी दुबैले जोखिम मोल्नु पर्छ । जुन पीडा गत सरकारको कार्यकालमा उद्योगी व्यवसायीले भोगे ।

सरकार परिवर्तनसँगै अर्थमन्त्री विष्णु पोडेलको चर्चा चुलिदै गर्दा सेयर बजारमा रौनकता छाउनुका साथै उनी आउने चर्चासँगै आजसम्मको ५ कार्यदिनमा १७९.०६ अंकले सेयर बजारमा वृद्धि भएको छ भने बजार पुँजीकरण पनि दैनिक रुपमा बढिरहेको छ । साथसाथै उद्योगी व्यवसायी र लगानीकर्ताहरू हामीले चाहेजस्तो अर्थमन्त्री पायौं भन्दै उत्साहित र आशावादी हुँदै लगानीको क्षेत्र विस्तार गर्न सुरु गरेका छन् ।

जसको फलस्वरुप अर्थमन्त्रीले उद्योगी व्यवसायीलाई भेटेर उनीहरूका माग र ज्ञापनपत्र बुझ्दै समस्या समाधानको लागि आश्वासन दिनुका साथै चरणवद्ध आन्दोलनमा रहेका व्यवसायीको आन्दोलन स्थगित भएको छ भने उद्योगी व्यवसायीहरू उनीहरूका मागहरू सम्बोधन हुने कुरामा आशावादी देखिन्छन् ।

सेयर बजारसँग सम्बन्धित संघ संस्थाका लगानीकर्ताका प्रतिनिधिहरूलाई अर्थमन्त्रीले भेटेर लगानीकर्ताहरूको समस्याको सुनुवाइका साथै लागनीमैत्री वातावरण निर्माणको प्रतिवद्धतासँगै पुँजी बजारमा उल्लास छाएको छ । जसले गर्दा ५ कार्यदिनमै १७९.०६ अंकले नेप्से परिसूचक वृद्धि भई पुँजी बजार बेयरिस चरण पुरा गरि बुलिस चरणमा प्रवेश गरेको छ । जसको फलस्वरुप दिनानुदिन कारोबार रकममा वृद्धि हुुनुका साथै नेप्से परिसूचक पनि निरन्तर बढिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स