काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको छ । बोर्डले मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । दुवै कम्पनीले पुस ७ गते बोर्डबाट अनुमति पाएका हुन् ।
बोर्डले अनुमति प्रदान गरेसँगै अब मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले दोलखामा २ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । दुई आयोजनाको कुल क्षमता १३.४ मेगावट रहेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।
त्यसैगरि, सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता सेयर निष्काशनको लागि अनुमति पाएको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त गरेको छ । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आईपीओबाट संकलन भएको रकम सोहि आयोजनामा स्वपुँजी लगानी अन्तर्गत खर्च गर्ने कम्पनीले जनाएको छ ।