सेबोनले गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने, अवैध रुपमा सेयर कारोबार गरेको ठहर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने भएको छ । सेबोनको संचालक समितिको बैठकले यी दुवैले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने निर्णाय गरेको हो।

न्यौपाने र प्रधान अहिले समितिमा नरहे पनि उनीहरु समिति सदस्य हुँदाहुँदै सेयर कारोबार भएको बोर्डले जनाएको छ ।

सेबोनले दुवै जनाको सेयर कारोबार बारे एक वर्ष अगाडी नै अध्ययन गर्दा उनीहरुले सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेको देखिएको थियो। अध्ययनको निष्कर्ष मिडिया मार्फत पनि सार्वजनिक भईसकेको र बोर्डले उनीहरुलाई संरक्षण गरेको आरोप लागेपछि बोर्डले उनीहरु माथि कारवाही अघि बढाउने निर्णय गरेको हो ।

सेबोनको गत मंसिर २५ गते बसेको संचालक समितिको बैठकले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियमविपरीत श्रीमती र छोरा छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेको सेबोनको अनुसन्धानबाट देखिएको छ।

त्यस्तै, रिडी पावरको अध्यक्ष रहँदा न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेको अनुसन्धानबाट फेला परेको छ।

धितोपत्र दर्ता निष्कासन नियमावलीमा कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ।

धितोपत्र ऐनको दफा १०१ को उपदफा ७ बमोजिम २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म नगद जरिवाना र १० वर्षसम्म सञ्चालक समितिमा बस्न नपाउने नियमन रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स