काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले संस्थाको संचालक, कार्यकारी प्रमुख, व्यवस्थापक, लेखापरिक्षक वा माथिल्लो ओहोदाका पदाधिकारीहरुको नाममा रहेको सेयर रोक्का राख्न निर्देशन दिएको छ ।
नेप्सेले बुधबार एक सूचना जारी गर्दे सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले सलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन’ भन्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाअनुसार सम्पूर्ण सूचीकृत कम्पनीहरुले उल्लेखित पदाधिकारीहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको सेयर सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा नियमावलीमा उल्लेखित समयावधिसम्म रोक्का राख्न धितोपत्र ऐन, २०६३ को दफा ४८ अनुसार यो निर्देशन जारी गरिएको नेप्सेले जनाएको छ।
१५ दिन भित्र सेयर रोक्का राखी जानकारी गराउनु एवं नयाँ हुने उल्लेखित पदाधिकारीहरुको उपर्युक्त अनुसार सेयर रोक्का गरेर मात्र जिम्मेवारी लिने व्यवस्था गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।