शिखर पावरले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य १०० दरको ९ लाख ९२ हजार ५८० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई सेयर निष्कासन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

सेयर निष्कासन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा शिखर पावर डेभलपमेन्टको तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन्।

कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत सेयर रहेको कम्पनीमा १० जना संस्थापक सेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको सेयरपुँजी चुक्ता भैसकेको छ ।

कम्पनीले बागलुङ जिल्लाको बडिगाड गाउँपालिकास्थित ‘भिमखोला साना जलविद्युत आयोजना’ (४.९६ मे.वा.) आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ । यस कम्पनीबाट सोही आयोजनाको क्यास्केड आयोजना लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजना (६.०५ मे.वा.) पनि प्रबर्द्धन भईरहेको तथा भविष्यमा अरु पनि थप हाईड्रोपावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक हेमराज आचार्यले बताए ।

वि.सं.२०७२ सालमा स्थापना भई वि.सं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्लाको टोखा १०, महादेवटारमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स