काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज दिउँसो कम्पनीको बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा कुल १२ लाख ३० हजार ६ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ । जसअनुसार सेयर वितरण गर्दा कुल आवेदक मध्ये ४०.६६ प्रतिशत अर्थात ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै सेयर पाएका छन् ।
कम्पनीले कार्तिक २५ गतेबाट सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३ सय ९० कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता पनि समावेश गरेको छ।
कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिएका छन् ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई ३२ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।