काठमाडौं । यो साताको अन्तिम दिन धितोपत्र दोस्रो बजार सकारात्मक गतिमा अघि बढेको छ । गत साताको अन्तिम कारोबार दिन १८९३.७० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन १९३६.८३ विन्दुमा पुगेर बन्द भएको छ ।
बजार वृद्धि भएसँगै बजार पुँजीकरण पनि बढेको छ । यो साता २७ खर्ब ८६ अर्ब २ करोड ३४ लाख पुगको हो । गत साताको अन्तिम कारोबार दिन २७ खर्ब २३ अर्ब ८५ करोड ९९ लाख बजार पुँजीकरण भएको छ । यो साताको कारोबारमा लगानीकर्ताको सम्पत्ति मूल्य अर्थात् कुल बजारपुँजीकरण ६२ अर्ब १६ करोड ३५ लाखले बढेको छ ।
यो साता ५ कारोबारको दिनमा धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक तीन कारोबार दिन बढेको छ भने दुई दिन सेयर कारोबार घटेको छ । साताको पहिलो कारोबार दिन १०.५४ अंकले घटेको नेप्से परिसूचक दोस्रो दिन २१.२९ अंकले बढेको छ । तेस्रो दिन ६.५९ अंकको करेक्सन सहेको बजारले चौथो दिन १३.४० अंक र पाँचौ दिन २५.५७ अंकको वृद्धि हासिल गरेको हो ।
यो साता नेप्से परिसूचक गत साताको तुलनामा ४३.१४ अंक माथी उक्लिएको छ । मंसिरमा विकास बैंक र वित्त कम्पनीहरूले घटाएको र वाणिज्य बैंकहरूले स्थिर राखको ब्याजदरको सकारात्मक प्रभाव धितोपत्र दोस्रो बजारमा देखिएको हो ।
यो साता नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत साता ७ अर्ब २३ करोडभन्दा बढीको १ करोड ८४ लाख ४३ हजार ७९८ कित्ता धितोपत्र खरदबिक्री भएकोमा यो साता ५ अर्ब ३१ करोडभन्दा बढीको १ करोड ४१ लाख ५ हजार १५७ कित्ता धितोपत्र खरीदविक्री भएको हो । गत साताको तुलनामा यो साता १ अर्ब ९१ करोडभन्दा कम ४३ लाख ३८ हजार ६४१ कित्ता धितोपत्र खरिदबिक्री भएको हो ।
औषतमा यो साता १ अर्ब ६ करोड बराबरको २८ लाख २१ हजार ३१ कित्ता धितोपत्र खरिदबिक्री भएको देखिन्छ ।
गत साता सर्वाधिक ३.६८ प्रतिशत घटेको वित्त समूहको उपसूचक यो साता सर्वाधिक ४.४७ प्रतिशत बढेको छ । यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरू गत साताको तुलनामा बढेको छन् । गत साताभन्दा यो साता जलविद्युत् समूहको उपसूचक पनि ४.३७ प्रतिशत बढेको छ । गत साता सर्वाधिक घटेको वित्त समूहको उपसूचक यो साता सर्वाधिक बढ्यो ।
अन्यको ४.१२ प्रतिशत, उत्पादन तथा प्रशोधनको पनि ४.१२ प्रतिशत, होटल्स तथा पर्यटनको २.९१ प्रतिशत, लगानीको २.६३ प्रतिशत, जीवन बीमाको १.९३ प्रतिशत, निर्जीवन बीमाको १.७३ प्रतिशतले बढेको छ ।
त्यसैगरी बैंकिङको १.५६ प्रतिशत, म्युचुअल फण्डको ०.६७ प्रतिशत, व्यापारिकको ०.२६ प्रतिशत र लघुवित्तको सबैभन्दा कम ०.१ प्रतिशत उपसूचक बढेको छ । यो साता कम्पनीहरूले सार्वजनिक गरेको लाभांश र पहिलो त्रैमाससम्मको वित्तीय विवरणको असर बजारमा सकारात्मक परेको छ ।