काठमाडौं । अमेरिकी सेयर बजार साढे २ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बिहीबार डाउ जोन्स १ हजार २०१.४३ अंक वा ४ प्रतिशतले बढेर ३३ हजार ७१५.४० विन्दुमा बन्द भयो । एस एउडपी ५०० पनि ५ प्रतिशतले बढेर ३ हजार ९५६.३७ विन्दुमा पुग्यो ।
नेस्डेक कम्पोजिट ७६० अंक अथवा ७.३५ प्रतिशतले उकालो लागेर ११ हजार ११४.२० मा पुगेर बन्द भएको थियो । यी मार्केटमा भएको कारोबार २ वर्ष यताकै उच्च हो । अक्टोबरमा अमेरिकाको महँगी दर घटेर ७.७ प्रतिशतमा झरेको छ ।
यो पछिल्लो ९ महिना यताकै न्यून बिन्दु हो । महँगी कम हुँदा अमेरिकी सेयर बजारमा पनि यसको असर देखिएको छ । जसकारण अमेरिकामा साढे २ वर्ष यताकै उच्च वृद्धि देखियो ।
त्यसरी नै शुक्रबार भारतीय सेयर बजारमा हरियाली देखिएको छ । यस दिन सेन्सेक्स उच्च स्तरमा पुगेको छ । आज सेन्सेक्स एक हजार १८१ अंकले बढेर हालसम्मकै उच्च विन्दु ६१ हजार ७९५ मा पुगेको छ । यसैगरी, निफ्टी पनि ३२१ अंकले वृद्धि भएर १८ हजार ३५० को उच्च विन्दुमा पुग्यो ।
निफ्टीमा आईटी सूचक ३.८१ प्रतिशतले बढेको छ । शुक्रबार कारोबार समयमा निफ्टी १८ हजार ३६२ को रेकर्ड स्तरमा पुगेको थियो । यस दिन निफ्टीको ३७ सेयर बढ्दा १२ शेयरमा गिरावट देखियो ।
शुक्रबार भारतीय सेयर बजार बढ्नुको मूख्य कारण एचडीएफसीको सेयर ५.२ प्रतिशत र एचडीएफसी बैंकको सेयर ५.७३ प्रतिशतले बढ्नु रहेको थियो ।
यसअघि सेन्सेक्सको उच्च विन्दु ६२ हजार २४५.४३ रहेको थियो जुन अक्टोबर २०२१मा कायम भएको थियो । १८ अक्टोबर २०२१ मा निफ्टी ५० सूचक १८ हजार ४७७ मा बन्द भएको थियो जुन अलटाईम हाई रकेर्ड हो । भारतीय संचारमाध्यमका अनुसार बढ्ने क्रम जारी रहेमा यस साता भारतको सेयर बजारले नयाँ रेकर्ड बनाउने छ ।
अमेरिकी र भारतीय सेयर बजारमा माथि गएपनि यसको असर नेपाली सेयर बजारमा नपर्ने इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । अमेरिकी सेयर मार्केटमा अन्तर्राष्ट्रिय लगानी भएकोले सानो घटना वा दुर्घटनाले पनि ठूलो असर पर्छ,’ उनले भने ‘तर, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी नभएको त्यति असर पर्दैन ।’
यद्यपि नेपालको सेयर बजार पनि बढ्छ । निकट भविष्यमै नेप्से परिसूचक २२ सय अंकभन्दा माथि जान्छ । बजार घट्ने आधार छैन । अब बजार बढ्ने नै हो ।